डडेलधुरामा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

Share:

काठमाडौं । डडेलधुराको अमरगढी नगरपालिका-७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १८५० नम्बरको पाँचजना सवार बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

चालकसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन् ।

दार्चुलाको अपिहिमाल गाउँपालिका-१ का ४५ वर्षका सुगन लोथ्याल र सोही ठाउँका २८ वर्षीय हनु लोथ्यालको दुर्घटनामा परी मृत्यु भएको छ ।

सूचना अधिकारी चन्दले दिएको जानकारी अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का ३५ वर्षीया सरस्वती लोथ्याल रहेका छन् ।

जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी घाइते छन् । घाइते तीनै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: