पोखरा विश्वविद्यालयको ३०औँ स्थापना दिवस मनाइयो, २५ वर्ष सेवा गर्ने पाँच जनालाई दीर्घ सेवा पदक

Share:

पोखरा । पोखरा विश्वविद्यालय ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय खुदी ढुङ्गेपाटनमा ३०औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वि.सं. २०५४ साल साउन १ गते स्थापना भएको यस विश्वविद्यालयले विशेष समारोहबीच आफ्नो तीन दशकको यात्रा पूरा गरेको अवसर मनाएको हो । कार्यक्रमको उद्घाटन उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारी र रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले संयुक्त रूपमा गमलामा जलसिँचन गरेका थिए ।

सो अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी समय निरन्तर सेवा पुर्‍याएका पाँच जना शिक्षक तथा कर्मचारीहरूलाई दीर्घ सेवा पदक, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा व्यवस्थापन सङ्कायका डीन प्रा.डा. ज्ञानेश्वर शर्मा, विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठकुराठी, प्रा.डा. दीपकराज पौडेल, सह(प्रशासक मुकुन्दराज लामिछाने र सहायक प्रशासक रविन्द्र सुवेदी रहेका थिए ।

समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले विश्वविद्यालयलाई विश्वस्तरीय, अनुसन्धानमुखी र विद्यार्थीमैत्री शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विश्वविद्यालय विचार र नवप्रवर्तनको केन्द्र भएको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यसंस्कृतिलाई आफ्नो नेतृत्वको प्राथमिकतामा राखेको स्पष्ट पारे ।

उपकुलपति अधिकारीले संस्थाका उपलब्धिहरूको प्रभावकारी प्रचारप्रसार गर्न संस्थागत सञ्चार प्रणाली सुदृढ बनाइने र अनावश्यक कार्यढिलाइको संस्कृति अन्त्य गरिने बताए ।

त्यस्तै, रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले भाडाको भवनबाट सुरु भएको विश्वविद्यालयले उच्च शिक्षामा ठुलो फड्को मारेको उल्लेख गर्दै अब आर्टिफिसियल इन्टेलिजेन्स र पूर्ण डिजिटल रूपान्तरणलाई आत्मसात् गर्दै शिक्षण तथा प्रशासनलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. ज्ञानेश्वर शर्मा, विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठकुराठी, परीक्षा नियन्त्रक उपप्रा. राजु पाण्डेय, स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा. ड.  विनय कुमार मिश्र, सहप्रा. डा. राजिव पोखरेल र उपप्रशासक मीन कुमारी डल्लाकोटीले विश्वविद्यालयको डिजिटल रूपान्तरण, गुणस्तरीय पाठ्यक्रम र अनुसन्धानमुखी वातावरण निर्माणका लागि सबै सरोकारवालाबिच साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए ।

सहप्रशासक तारादेवी सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा विश्वविद्यालयको प्रगतिमा योगदान दिने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: