
पोखरा । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वविद्यालयहरू अब केवल पठनपाठन र डिग्री वितरणमा सीमित रहन नहुने बताएका छन्। उनले अनुसन्धान, नवप्रवर्तन (इन्नोभेसन) र उद्यमशीलताको विकासलाई विश्वविद्यालयको मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार पोखरा-३० स्थित पोखरा विश्वविद्यालयको भ्रमणका क्रममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले शिक्षाले विद्यार्थीलाई जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा राखे।
“डिग्री हासिल गरेपछि पनि युवाहरू रोजगारीको खोजीमा भौंतारिनु वा विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य गर्न अब शिक्षाको स्वरूप परिवर्तन गर्न आवश्यक छ,” उनले भने।
मन्त्री पुनले हालसम्म अधिकांश विश्वविद्यालयले शैक्षिक पक्षमा बढी केन्द्रित भएको उल्लेख गर्दै अब अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि सम्बन्धित ऐन संशोधनको तयारी गरिरहेको जानकारी दिँदै पोखरा विश्वविद्यालयमा तीन महिनाभित्र ‘इन्नोभेसन सेन्टर’ स्थापना तथा सञ्चालनसम्बन्धी ठोस अवधारणा (Concept Note) र प्रस्ताव (Proposal) तयार गरी पेश गर्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई आह्वान गरे।
विश्वविद्यालय, सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट नेपालमा नवप्रवर्तन र उद्यमशीलताको नयाँ वातावरण सिर्जना गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री पुनले विश्वविद्यालयहरूलाई ज्ञान उत्पादनसँगै आर्थिक रूपान्तरणका केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
भ्रमणका क्रममा मन्त्री पुनलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारी, रजिष्ट्रार प्रा. हरिबहादुर खड्कालगायत विश्वविद्यालयका पदाधिकारीहरूले स्वागत तथा सम्मान गरेका थिए।
