पोखरा विमानस्थलको निःशुल्क सटल बस सेवा बन्द, परीक्षणमै सीमित भयो महानगरको योजना

Share:

पोखरा । नयाँ वर्षको अवसर पारेर पोखरा महानगरपालिकाले सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल-अमरसिंहचोक निःशुल्क विद्युतीय सटल बस सेवा तीन महिनामै बन्द भएको छ। असार मसान्तमा सम्झौता अवधि सकिएसँगै सेवा सञ्चालनमा रहेका दुवै बस काठमाडौं फिर्ता लगिएका छन्।

हवाई यात्रुलाई विमानस्थलदेखि मुख्य सडकसम्म सहज आवतजावत गराउने उद्देश्यले वैशाखदेखि सञ्चालनमा ल्याइएको सेवा अपेक्षाअनुसार प्रभावकारी हुन सकेन। बिहान ६ बजेदेखि राति १० बजेसम्म नियमित सञ्चालन गरिए पनि यात्रु संख्या अत्यन्त न्यून रहेकाले सेवा आर्थिक रूपमा टिकाउन नसकिएको महानगर यातायात प्रालिले जनाएको छ।

महानगर यातायात प्रालिका सचिव केशव नेपालका अनुसार कम्पनीले सुरुवातदेखि नै यसलाई परीक्षण परियोजनाका रूपमा सञ्चालन गरेको थियो। “असार मसान्तसम्मका लागि मात्रै दुई वटा बस पठाएका थियौं। दैनिक सञ्चालन खर्च त वित्तीय साझेदारमार्फत प्राप्त भयो, तर यात्रु संख्या निकै कम भएकाले दीर्घकालीन रूपमा व्यावसायिक रूपमा सञ्चालन सम्भव भएन,” उनले बताए।

कम्पनीका अनुसार सम्झौता सकिनुअघि पनि पोखरा महानगरपालिकाबाट सेवा निरन्तरता, सम्झौता नवीकरण वा नयाँ सञ्चालन मोडलबारे कुनै औपचारिक प्रस्ताव वा छलफल नभएकाले बस काठमाडौं फिर्ता लैजानुपरेको हो।

यस सेवाका लागि चालक/सहचालक, विद्युतीय ऊर्जा तथा मर्मतसम्भार खर्च पोखरा महानगरपालिका, कृषि विकास बैंक र कामना सेवा विकास बैंकले संयुक्त रूपमा व्यहोरेका थिए। महानगरले करिब ८ लाख ५० हजार रुपैयाँ, कृषि विकास बैंकले ५ लाख ५० हजार रुपैयाँ र कामना सेवा विकास बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए।

यद्यपि, पोखरा महानगरपालिकाले भने सेवा स्थायी रूपमा बन्द नभएको दाबी गरेको छ। महानगरका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार परीक्षण सफल भएपछि अब निजी क्षेत्रसँग सहकार्य गरेर सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।

“महानगरले सुरुवात गर्‍यो, अब निजी क्षेत्रमार्फत दीर्घकालीन रूपमा सञ्चालन गर्ने अवधारणा छ। यातायात व्यवसायी महासंघलगायत सरोकारवालासँग छलफल भइरहेको छ,” तिवारीले भने।

महानगरका अनुसार बिहानदेखि रातिसम्म यात्रु भए/नभए पनि नियमित बस चलाउनुपर्ने बाध्यता र विद्युतीय बस सञ्चालन खर्च उच्च भएकाले महानगर आफैंले सेवा निरन्तर सञ्चालन गर्न नसकेको हो।

यसबीच सटल बस सेवाको औचित्यमाथि पनि प्रश्न उठेको छ। विमानस्थलबाट सहर आउने यात्रुलाई सेवा उपयोगी देखिए पनि सहरबाट विमानस्थल जाने अधिकांश यात्रुले निजी सवारी वा ट्याक्सी प्रयोग गर्ने भएकाले बसमा अपेक्षित यात्रु आकर्षित हुन सकेनन्।

उता, वित्तीय साझेदार बैंकहरूले पनि आफ्नो सहकार्य तीन महिनाको प्रचारात्मक सम्झौतामै सीमित रहेको स्पष्ट पारेका छन्। कामना सेवा विकास बैंकले ब्रान्डिङका लागि तीन महिनाको सम्झौताअनुसार ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ भने कृषि विकास बैंकले पनि छोटो अवधिको प्रचारात्मक सहकार्य मात्र रहेको जनाएको छ।

विमानस्थलजस्तो महत्वपूर्ण पूर्वाधारसँग जोडिएको सार्वजनिक यातायात सेवा तीन महिनामै रोकिएपछि महानगरको दीर्घकालीन योजना र व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ। स्थानीयवासीले उद्घाटन र प्रचारप्रसारमा सक्रिय देखिएको महानगर सेवा दिगो बनाउन भने कमजोर देखिएको टिप्पणी गरेका छन्। अब निजी क्षेत्रसँगको सहकार्य सफल भए मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: