हङकङबाट देउवाले भन्छन्- संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु

Share:

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका छन्।

जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा मंगलबार जारी सन्देशमा देउवाले सरकारले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन्।

देउवाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको उनको विचार नै आफ्नो राजनीतिक यात्राको मार्गदर्शक रहेको उल्लेख गरेका छन्। बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनकै ठूलो सौभाग्य भएको भन्दै लोकतान्त्रिक मूल्य, संविधान र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको बताएका छन्।

छ दशकभन्दा लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि पार्टी नेतृत्वसम्म आइपुग्दा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले जेल, प्रतिबन्ध र राजनीतिक दमनका बीच पनि लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन्।

देउवाले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड-१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन्।

स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उनले बताएका छन्।

पछिल्ला राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै देउवाले फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन र प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि अस्वीकार्य भएको उल्लेख गरेका छन्। उनले यस्तो संस्कृतिको प्रतिरोध गर्नु नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको पनि बताएका छन्।

देउवाले सरकारले प्रतिपक्षलाई लक्षित गर्दै प्रतिशोधको राजनीति गरिरहेको, स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको आरोप लगाएका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने प्रयास भइरहेको उनको दाबी छ।

देशलाई अहिले विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय संवाद र साझा सहकार्यमा जोड दिएका छन्।

सन्देशको अन्त्यमा देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आमनेपालीलाई आह्वान गर्दै “देश र लोकतन्त्रको रक्षाका लागि म स्वदेश फर्किंदै छु” भन्ने घोषणा गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: