वर्षाले देशभरका ११ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध

Share:

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा आज पनि ११ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सडक सञ्जालमा गम्भीर असर परेको हो।

पूर्ण रूपमा अवरुद्ध हुने सडकहरूमा इलामको मेची राजमार्ग, खोटाङको मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेको बीपी राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, दोलखाको लामासाँघु-रामेछाप सडक, बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेँसीसहर-मनाङ सडक, म्याग्दीको बेनी-जोमसोम सडक तथा रुकुम पश्चिमको भेरी करिडोर (जाजरकोट-डोल्पा सडक) रहेका छन्।

यस्तै, भोजपुरको मध्यपहाडी राजमार्ग र डडेल्धुराको केआई सिंह राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन्। प्रहरीका अनुसार देशका धेरै स्थानमा वर्षा अझै जारी रहेकाले थप बाढी र पहिरोको जोखिम कायम छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: