पोखराका धार्मिक स्थललाई ‘धार्मिक पर्यटकीय सर्किट’का रूपमा विकास गरिने, सितापाइला घाट सञ्चालनमा

Share:

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गरिने बताएका छन्।

पोखरा-१७ महतगाउँस्थित सितापाइला घाटको व्यवस्थापन तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले सेती नदी किनारका धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख आचार्यले दृढ इच्छाशक्ति, इमान्दारिता र पारदर्शिताका साथ सञ्चालन गरिने विकास निर्माणका काम गुणस्तरीय हुने उल्लेख गर्दै विकास आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको सक्रिय सहभागिता र निगरानी आवश्यक रहेको बताए।

विकास निर्माण सरकारको मात्र जिम्मेवारी नभई त्यसको संरक्षण र दीगो व्यवस्थापनमा नागरिकको पनि उत्तिकै भूमिका रहने उनको भनाइ थियो।

उनले पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महानगरले विशेष प्राथमिकता दिएको जानकारी दिए।

धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ।

वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले सितापाइला घाटको व्यवस्थापन सम्पन्न भएसँगै सेती नदीमा स्नान गर्न आउने श्रद्धालु तथा अन्त्येष्टि कार्यका लागि आउने परिवारलाई थप सहजता हुने बताइन्।

धार्मिक आस्था, संस्कार र संस्कृतिसँग जोडिएका यस्ता स्थलको संरक्षण तथा व्यवस्थित विकास महानगरको प्राथमिकतामा रहेको उनले स्पष्ट पारिन्।

पोखरा महानगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीयवासीको सहयोगमा करिब ५१ लाख ८६ हजार रुपैयाँ लागतमा घाट व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिएको हो।

यसमध्ये महानगरपालिकाले २७ लाख ८६ हजार ८१२ रुपैयाँ र विभिन्न संघसंस्था तथा व्यक्तिबाट २३ लाख ९९ हजार ३९२ रुपैयाँ सहयोग प्राप्त भएको सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिले जनाएको छ।

कार्यक्रममा जनप्रतिनिधि, धार्मिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले सेती नदी किनारमा रहेको करिब ५० रोपनी सार्वजनिक जग्गालाई व्यवस्थित गरी धार्मिक तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कमेन्ट गर्नुहोस्
Share: