भदौ अन्तिम सातादेखि पोखराको टुँडिखेलमा तीज महोत्सव

Share:

पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै पोखरा महानगरपालिका-१ स्थित ऐतिहासिक पुरानो टुँडिखेलमा ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव-२०८३’ आयोजना हुने भएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा-१ को आयोजनामा हुने महोत्सव भदौ अन्तिम सातादेखि सञ्चालन गरिने तयारी गरिएको आयोजकले जनाएको छ।

महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन आयोजकले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, क्लब तथा स्थानीयवासीसँग छलफल गरी सुझाव संकलन गरेको छ। छलफलमा सहभागीहरूले महोत्सवलाई सफल बनाउन सबै पक्षबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजक संस्था इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाले करिब दुई दशकदेखि तीजगीत प्रतियोगिता आयोजना गर्दै आएको छ।

विसं २०७६ सालमा पहिलो पटक तीज मेला आयोजना गरिएको भए पनि कोरोना महामारीका कारण दुई वर्ष कार्यक्रम रोकिएको थियो। त्यसपछि महोत्सवलाई अझ व्यापक स्वरूपमा निरन्तर सञ्चालन गर्दै आइएको उनले बताए।

उनका अनुसार यस वर्षको महोत्सवको औपचारिक मिति केही दिनभित्र सार्वजनिक गरिनेछ। महोत्सवबाट संकलित रकम पोखरा-१ को गाईघाट क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन उपयोग गरिने उनले जानकारी दिए।

महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता, गृहिणी तीज नृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता तथा गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगितासहित विविध सांस्कृतिक तथा परम्परागत कार्यक्रम सञ्चालन गरिनेछन्।

त्यसैगरी दैनिक उपभोग्य सामग्री, कृषि उत्पादन, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडा, रेस्टुरेन्टलगायतका विभिन्न प्रदर्शनी स्टल रहनेछन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, बाल उद्यान र मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।

नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै सामाजिक उद्देश्यलाई समेत जोडेर आयोजना गर्न लागिएको यो महोत्सव पोखरेलीहरूको प्रमुख सांस्कृतिक उत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: