सय दिनमा कृषि क्षेत्रमा नयाँ कार्यक्रमदेखि खाद्य विधेयकसम्म, मन्त्री कार्कीले सार्वजनिक गरे उपलब्धि

Share:

पोखरा। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पदभार सम्हालेको सय दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धि सार्वजनिक गरेका छन्।

उनले कृषि, भूमि व्यवस्थापन र सहकारी क्षेत्रलाई उत्पादनमुखी, व्यवस्थित र किसानमैत्री बनाउन नीति निर्माणदेखि नयाँ कार्यक्रम कार्यान्वयनसम्म उल्लेखनीय काम भएको बताएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले २०८३ वैशाख २ गते मन्त्री नियुक्त भएपछि आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया चलिरहेका बेला जिम्मेवारी सम्हाल्नुपरेको स्मरण गर्दै छोटो अवधिमै नीति निर्माण र बजेट कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गरिएको बताए।

उनले चालु आर्थिक वर्षका लागि मन्त्रालयमार्फत बजेटमा समावेश गरिएका नयाँ तथा प्राथमिकताका कार्यक्रम, कृषि, पशुपन्छी विकास, भूमि व्यवस्थापन र सहकारी क्षेत्रको सुधारका लागि गरिएका तयारी, नीतिगत तथा कानुनी व्यवस्था, संस्थागत सुधारका प्रयास तथा मन्त्रालय र मातहतका कार्यालयहरूले सय दिनमा गरेका कार्य सार्वजनिक गरे।

मन्त्री कार्कीका अनुसार ‘रिटर्न टु भिलेज’ कार्यक्रम, कृषि एम्बुलेन्स सेवा, रासायनिक मलको सहज व्यवस्थापन, जैविक मल उत्पादन तथा प्रयोगमा अनुदान, कृषि राहत कोष स्थापना, न्यूनतम समर्थन मूल्य कार्यक्रम, सार्वजनिक-निजी-सामुदायिक साझेदारीको प्रवर्द्धन, प्रदेशस्तरबाटै विषादी विक्रेताको अनुमति तथा नवीकरण व्यवस्था र खाद्य विधेयकको मस्यौदा तयार गरी प्रदेश सभामा पेश गर्नु सय दिनका प्रमुख उपलब्धि हुन्।

त्यसैगरी प्रदेशको भूमि नीतिको मस्यौदा तयार गरिएको तथा खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

मन्त्री कार्कीले किसानको उत्पादन लागत घटाउने, कृषि उत्पादन वृद्धि गर्ने, सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउने र भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित मन्त्रालय अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा परिणाममुखी कार्यक्रमलाई थप तीव्रता दिइने बताए।

कमेन्ट गर्नुहोस्
Share: