फोनिज गण्डकीको ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ खेम सारुमगर र गोपाल जिटीलाई

Share:

पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ यस वर्ष वरिष्ठ सञ्चारकर्मी खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ।

फोनिज गण्डकीको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै दुवै पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङका अनुसार पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ।

फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले दुवै पत्रकारको नाम सिफारिस गरेको थियो। समितिमा संघीय सचिव एमबी आस्था मगर, सल्लाहकार मनोज घर्तीमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर सदस्य थिए।

पुरस्कृत हुने खेम सारुमगर हाल सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, पोखरामा कार्यरत छन्। उनले २०५१ सालदेखि तत्कालीन रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, पोखराबाट पत्रकारिता यात्रा सुरु गरेका थिए।

मगर भाषाका समाचार वाचकदेखि समाचार सम्पादक हुँदै वरिष्ठ सम्पादकसम्मको जिम्मेवारी सम्हालिसकेका सारुमगर नेपाली प्रसारण पत्रकारिताका अनुभवी नामका रूपमा परिचित छन्।

त्यसैगरी, स्याङ्जाका गोपाल जिटी २०६७ सालदेखि पत्रकारितामा सक्रिय छन्। उनले वालिङ एफएम र वालिङ टेलिभिजनमा काम गरिसकेका छन्। हाल उनी प्रमाण मिडिया ग्रुपअन्तर्गत प्रकाशित प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन्।

दुवै पत्रकारलाई फोनिज स्थापना दिवसको अवसरमा साउन २१ गते पोखरामा आयोजना हुने विशेष सम्मान समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ। पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनको परिवारले आफ्ना स्वर्गीय बुबाआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ र राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र कमला राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली तथा गोरखाका कैलाशबाबु श्रेष्ठ यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित भइसकेका छन्।

गण्डकी प्रदेशमा आदिवासी जनजाति पत्रकारिताको प्रवर्द्धनसँगै समग्र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मीलाई सम्मान गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार’लाई प्रदेशकै प्रतिष्ठित पत्रकारिता सम्मानमध्ये एक मानिन्छ।

कमेन्ट गर्नुहोस्
Share: