
पोखरा। नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले बोर्डको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु भएकाले अब निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै विदेशी पर्यटक भित्र्याउने अभियानलाई प्राथमिकता दिइने बताएका छन्।
पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थिति बलियो बनाउन सरकारी तथा निजी क्षेत्रबीच एकीकृत प्रयास अपरिहार्य रहेको बताए।
“नेपाल पर्यटन बोर्डको मुख्य काम पूर्वाधार निर्माण होइन, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु हो,” उनले भने, “पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार-प्रसार र स्रोत बजारमा नेपालको प्रभावकारी उपस्थितिमा बोर्ड केन्द्रित हुनुपर्छ।”
पोखरेलले पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले देखाएको विश्वास र अपनत्वले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै पर्यटन व्यवसायीका साझा समस्या र आवश्यकतालाई बोर्डमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।
उनले पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणा र एउटै सन्देशका साथ अन्तर्राष्ट्रिय बजारमा पुग्न सके अझ प्रभावकारी परिणाम हासिल हुने धारणा राखे।
सरकारले विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराएर देशको पर्यटन प्रवर्द्धन गर्ने रणनीतिमा काम गरिरहेको जानकारी दिँदै पोखरेलले पोखरालाई ‘वेलनेस टुरिजम’को अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको बताए। यससम्बन्धी निजी क्षेत्रबाट ठोस योजना आए नेपाल पर्यटन बोर्डमार्फत आवश्यक सहजीकरण गरिने उनको भनाइ थियो।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले विदेशी पर्यटकको संख्या बढाउन अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनात्मक कार्यक्रमहरू विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पोखराबाट दुबईका लागि हुन लागेको अन्तर्राष्ट्रिय उडानलाई पर्यटन प्रवर्द्धनको अवसरका रूपमा उपयोग गर्दै यसको व्यापक प्रचार-प्रसार गर्नुपर्ने बताए।
परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य तथा महासचिव जीवन सापकोटालगायतले पर्यटन क्षेत्रको दिगो विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच अझ प्रभावकारी साझेदारी आवश्यक रहेको धारणा राखे।
पछिल्लो समय नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनभन्दा पूर्वाधार निर्माणका कार्यक्रममा बढी ध्यान दिएको भन्दै पर्यटन व्यवसायीबाट आलोचना भइरहेका बेला नवनियुक्त बोर्ड सदस्य पोखरेलले बोर्डलाई पुनः अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको मूल भूमिकामै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
