
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्ने जोखिम बढेपछि आज (मंगलबार) राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित मानवीय क्षति रोक्न र यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रातको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो। प्रशासनले अत्यावश्यक बाहेक राति उक्त सडक हुँदै यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मंगलबार साँझ करिब ६ बजे मुग्लिन बजार नजिकै तेस्रोपटक सुख्खा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडक विभागका इन्जिनियरको नेतृत्वमा डोजर तथा अन्य मेसिन प्रयोग गरी पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको भए पनि माथिबाट ढुंगा र माटो खस्ने जोखिम अझै कायम रहेको बताइएको छ।
सडक डिभिजन भरतपुरले पहिरोको अवस्था निरन्तर अनुगमन भइरहेको जनाउँदै यात्रु र चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
यी नम्बरमा सम्पर्क गर्न सकिन्छ
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी बल : १११४
जिल्ला आपतकालीन सञ्चालन केन्द्र : १२३४
जिल्ला प्रहरी कार्यालय चितवन (सूचना अधिकारी) : ९८५५०१३९९९
प्रशासनले सडकको अवस्था सुरक्षित भएपछि मात्रै पुनः सवारी सञ्चालन गरिने जनाएको छ। त्यसअघि वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
