लेकसाइडमा पर्यटकलाई दुःख दिने ८ जना पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड तथा बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक एवं यात्रुलाई अनावश्यक दुःख-हैरानी दिने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन १२ गते मंगलबार राति करिब १०:४५ बजे आकर्षक तथा सस्तोमा होटल मिलाइदिने भन्दै पर्यटक र यात्रुलाई रोक्ने, बार्गेनिङ गर्ने तथा पछ्याउने जस्ता गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

कार्यालय मातहतको सीआरभी बिरौटा र सीआरभी हल्लनचोकबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१७ बिरौटा क्षेत्रबाट ५ जना र पोखरा महानगरपालिका-६ हल्लनचोक क्षेत्रबाट ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: