
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताएका छन्। गुरुपूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले गुरु र शिष्यबीचको सम्बन्ध विश्वास, अनुशासन, सम्मान, समर्पण र चरित्र निर्माणको रहने उल्लेख गरे ।
‘अधिकांश महान् व्यक्तित्वका पछाडि कुनै न कुनै प्रेरणादायी गुरुको मार्गदर्शन रहन्छ । गुरुको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित हुनुहुँदैन,’ उनले भने, ‘गुरुहरूले सिकाएका आदर्शलाई व्यवहारमा उतार्नु, उहाँहरूप्रति सदैव आदर राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो ।’
शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उनको भनाई छ । ‘विद्यालयमा गरिने रचनात्मक कार्यहरुले नयाँ विद्यार्थीहरुलाई हौसलाका साथै शैक्षिक विकासमा पनि टेवा पुग्दछ ।’ प्रदेश प्रमुख भट्टले भने, ‘आफ्ना बाल्यकालका स्मृतिहरूलाई ताजा गर्ने बहानामा मातृविद्यालयको हितका लागि सोच्नु, भाइबहिनीहरूको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु र विद्यालयको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्नु साँचो अर्थमा समाजसेवा पनि हो । आफूले प्राप्त गरेको ज्ञान, सीप र साधनलाई आफ्नै शिक्षाको जगको उन्नतिका लागि प्रयोग गर्नु नै असल नागरिकको पहिचान पनि हो ।’
कार्यक्रममा मञ्चले विद्यालय स्थापनादेखि २०४० सालसम्म अध्यापन गराउनुभएका शिक्षकहरूलाई सम्मान गरेको थियो ।
