पोखरामा मानव बेचबिखन आरोपमा चार महिला पक्राउ, एक बालिकाको उद्धार

Share:

पोखरा । कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा चार जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले पोखरा महानगरपालिका-१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई विभिन्न प्रलोभन देखाई राम्रो आम्दानी हुने भन्दै होटलमा आउने पुरुषसँग जबरजस्ती रात बिताउन लगाउने तथा अनैतिक कार्यमा संलग्न गराएको खुलेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन १४ गते साँझ करिब ६ बजे खटिएको प्रहरी टोलीले घटनास्थलबाट एक बालिकाको उद्धार गरेको हो। घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका-१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: