
पोखरा । हराउँदै गएको परम्परागत अन्नबाली कोदोको संरक्षण, प्रवर्द्धन र व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका-२२ को कोदीमा शनिबार दोस्रो राष्ट्रिय कोदो दिवस मनाइने भएको छ।
पुम्दीभुम्दी कृषि सहकारी संस्थाको आयोजनामा हुन लागेको कार्यक्रममा ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारालाई केन्द्रमा राखेर कोदोको महत्त्वबारे व्यापक छलफल गरिनेछ।
कार्यक्रमलाई पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाले सहयोग गरेको छ भने वडा नं. २२ को कार्यालयले समन्वय गरिरहेको छ। वडा स्तरीय कृषि सञ्जाल-२२ र ली बर्ड नेपालले पनि कार्यक्रमलाई सहकार्य गरेका छन्।
महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पछिल्लो समय खेती घट्दै गएको कोदोबालीको संरक्षण गर्दै किसानलाई यसको उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले दिवस आयोजना गरिएको हो।
दिवसका अवसरमा कोदोको खाद्य तथा पोषण सुरक्षामा रहेको योगदान, स्वास्थ्य लाभ, उत्पादन प्रविधि तथा व्यावसायिक खेतीका सम्भावनाबारे किसान र उपभोक्तालाई जानकारी गराइनेछ।
स्थानीय स्तरमा उत्पादन बढाउँदै कोदोका परिकारको प्रवर्द्धन र बजार विस्तारका उपायबारे पनि छलफल हुने आयोजकले जनाएको छ। कोदो उत्पादनका लागि सम्भावनायुक्त क्षेत्र मानिने कोदीमा आयोजना हुने कार्यक्रममा महानगरका जनप्रतिनिधि, कृषि विज्ञ, किसान तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्दै पोषण सुरक्षामा कोदोको प्रयोग बढाउन दिवसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ। साथै, कार्यक्रममा सहभागी भई कोदो संरक्षण अभियानलाई सफल बनाउन सबै सरोकारवालासँग आयोजकले आग्रह गरेको छ।
