स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवा

Share:

काठमाडौं । विदेश गएको पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किन लागेका छन् । पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम तय भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले बताए। ‘साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको जानकारी पाएको छु,’ महतले भने।

नेपाली कांग्रेसका पूर्वसभापति देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमण रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन्।

त्यसपछि दुवै जना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुगेको जानकारी दिएका थिए। त्यसयता उनीहरू कहाँ छन भन्ने खुलाइएको छैन।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी गरिएको थियो। देउवा दम्पत्तिमाथि आक्रमण भएको थियो।

केही समय नेपालमा उपचारपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि नेपाल फर्केका देउवा ‘फलोअफ’कै क्रममा गत फागुन १३ मा सिंगापुर गएका हुन्।

देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्न लागेको छ। भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ।

राष्ट्रिय भेलाको सम्मुखमा देउवा स्वदेश फर्किन लागेका हुन्। भेलामा सहभागितालाई लिएर भने अहिले केही खुलाएको छैन।

कमेन्ट गर्नुहोस्
Share: