घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा पहिरो: एक बेपत्ता, एक घाइते

Share:

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन्।

आज बिहान माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युतगृह पुरिँदा आयोजनामा कार्यरत अन्नपूर्ण-६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। पहिरोमा परेर गौरीगङ्गा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।

पहिरोमा बेपत्ता बरुवालको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको छ। उद्धार टोलीले पहिरो पन्छाउँदै बरुवालको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

घाइते विकलाई पहिरोबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

पहिरोका कारण १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका महत्वपूर्ण उपकरणमा क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि आयोजनाबाट हुने विद्युत् उत्पादनसमेत पूर्ण रूपमा बन्द भएको छ।

माथिल्लो भागबाट अचानक ढुंगासहितको सुक्खा पहिरो खसेपछि विद्युतगृहमा ठूलो क्षति पुगेको हो। घटनापछि आयोजनाको भौतिक क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता बरुवालको अवस्था अझै अज्ञात रहेकाले उद्धार टोलीले जोखिम मोलेर खोजी कार्यलाई तीव्रता दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: