कालीगण्डकीको कटानले मालढुङ्गा पुलको जग कमजोर, आवतजावतमा जोखिम

Share:

पोखरा । कालीगण्डकी नदीको तीव्र कटानका कारण बागलुङको प्रवेशद्वारका रूपमा रहेको मालढुङ्गा पुल जोखिममा परेको छ। पुलको पर्वततर्फको मुख्य पिलरको जगमा निरन्तर पहिरो जान थालेपछि पुलको सुरक्षामाथि प्रश्न उठेको हो।

बागलुङ र पर्वतलाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो। नदीको सतह बढेसँगै गत बिहीबारदेखि पुलको जगमा क्षति पुग्न थालेको बताइएको छ। अहिले पनि जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

करिब तीन दशकअघि निर्माण गरिएको पुलको अवस्था जोखिमपूर्ण बनेपछि सडक डिभिजन कार्यालयले प्रारम्भिक निरीक्षण गरेको छ। थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराइएको कार्यालयका प्रमुख इञ्जिनियर हरि सुवेदीले बताए।

“अहिले तत्कालै मर्मत गर्न सकिने अवस्था छैन। पानीको बहाव घटेपछि क्षतिको विस्तृत अध्ययन गरेर मर्मतको काम अघि बढाउँछौँ,” सुवेदीले भने।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडकखण्डमा पर्ने यो पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो। पुलको जग संरक्षण गर्न निर्माण गरिएको पर्खालसमेत भत्किएपछि जोखिम थप बढेको हो।

जोखिम बढेपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सावधानी अपनाएर मात्र सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।

यसैबीच, पुल आसपास भइरहेको नदीजन्य पदार्थको उत्खननले पनि जोखिम बढाएको सडक डिभिजन कार्यालयको भनाइ छ। कार्यालयका अनुसार पुलको माथिल्लो भागमा ५०० मिटर र तल्लो भागमा एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न कानुनी रूपमा रोक लगाइएको छ।

तर, उक्त क्षेत्रमा नदी दोहन तथा नदीजन्य सामग्री उत्खनन हुँदै आएको कार्यालयले जनाएको छ। नदी दोहनका कारण पुलसँगै मालढुङ्गा बस्तीसमेत जोखिममा परेको अधिकारीहरूको भनाइ छ।

हाल कालीगण्डकीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत तथा संरक्षणको काम अघि बढाउन सम्भव छैन। सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीका अनुसार पानीको बहाव कम भएपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरिनेछ।

त्यसपछि पुलको जगमा भएको क्षतिको अवस्था हेरेर आवश्यक मर्मत, संरक्षण तथा थप क्षति रोक्ने काम अघि बढाइनेछ।

कमेन्ट गर्नुहोस्
Share: