भारतीय सेनामा पुनः भर्ती खुलाउन माग गर्दै पोखरामा भूपू सैनिक र युवाहरूको प्रदर्शन

Share:

पोखरा । भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपाली युवाहरूको पुनः भर्ती खुलाउन र भूपू सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराको आयोजनामा बुधबार आयोजित उक्त प्रदर्शनमा भूपू सैनिक तथा सेनामा भर्ना हुन इच्छुक युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पोखराका विभिन्न स्थान परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय कास्की पुगेको जुलुसले प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गरिएको दुई बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ब्रिगेडका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भारत सरकारले १४ जुन २०२२ देखि ल्याएको ‘अग्निपथ’ योजनापछि नेपाल सरकारले भर्ती रोकेको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सन् १८१४–१८१६ को सुगौली सन्धिपछि २११ वर्षदेखि निरन्तर चल्दै आएको भर्ती प्रक्रिया रोकिँदा पुर्खाहरूले आर्जन गरेको वीरताको इतिहास मेटिनुका साथै नेपालमा आउने अर्बौं रुपैयाँ रेमिट्यान्स र कल्याणकारी योजना गुम्ने खतरा उत्पन्न भएको भूपू सैनिकहरूले बताएका छन् ।

अग्निपथ अन्तर्गत ४ वर्षको अवधिमा एक युवाले ४५ देखि ५० लाख रुपैयाँसम्म कमाउन सक्ने र २५ प्रतिशत स्थायी हुने अवसर रोकिएकाले लाखौँ युवा न्यून तलबमा खाडी मुलुकको ५० डिग्रीको गर्मीमा काम गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

अग्निवीर योजनाको ५ वर्षे ट्रायल सन् २०२७ जुनमा सकिने भएकाले सरकारले तत्काल यसबारे भारतसँग वार्ता थाल्नुपर्ने माग गरिएको छ ।

यसैगरी, ज्ञापनपत्रमा गृहमन्त्रालयले २०८१ वैशाख ४ गते ‘सैनिक’ शब्द नेपाली सेनाका लागि मात्र प्रयोग हुने भन्दै जिल्ला प्रशासन कार्यालयहरूलाई संस्थाहरू नवीकरण नगर्न दिएको निर्देशनप्रति पनि असन्तुष्टि जनाइएको छ ।

उक्त निर्णयका कारण २ वर्षदेखि संस्था नवीकरण हुन नसक्दा नेपालमा रहेका भारतीय, ब्रिटिश र सिंगापुरका ठूलो संख्यामा रहेका भूपू सैनिकहरूले अपमानित र बेसहारा महसुस गरिरहेको उल्लेख छ ।

२११ वर्षदेखि स्थापित ‘भूपू सैनिक’ शब्दमाथि आपत्ति जनाउनु न्यायसंगत नभएकाले रोकिएका संघसंस्थाहरूको नवीकरण तुरुन्त सुचारु गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: