पूर्वसेना प्रमुख आइजेनकोटबाट नेतन्याहुलाई चुनौती: आगामी चुनावमा विपक्षी दल अगाडि देखिने सर्वेक्षणको दाबी

Share:

काठमाडौं । इजरायलमा आगामी अक्टोबर २७ मा हुन गइरहेको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हार व्यहोर्नुपर्ने सम्भावना बढेको छ।पूर्वसेना प्रमुख गादी आइजेनकोटबाट नेतन्याहुलाई कडा चुनौती सामना गर्नुपर्ने देखिएको हो।

हालै सार्वजनिक भएको एक सर्वेक्षण अनुसार आइजेनकोटको विपक्षी दल ‘यासर’ले संसदमा सर्वाधिक २५ सिट जित्ने अनुमान गरिएको छ भने नेतन्याहुको सत्तारूढ ‘लिकुड पार्टी’ २१ सिटमा सीमित हुने देखिएको छ।

यसअघिका धेरैजसो सर्वेक्षणहरूमा दुई दलबीच कडा प्रतिस्पर्धा र मतान्तर निकै कम देखिए तापनि पछिल्लो सर्वेक्षणले भने चार सिटको फराकिलो अन्तर देखाएको छ।

यद्यपि, सर्वेक्षण अनुसार कुनै पनि एकल दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याउने सम्भावना भने देखिएको छैन।

कुल १२० सिट रहेको इजरायली संसद् ‘नेसेट’मा सरकार गठनका लागि कम्तीमा ६१ सिटको बहुमत आवश्यक पर्छ। सर्वेक्षण अनुसार नेतन्याहु विरोधी ‘चेन्ज ब्लक’ले ५८ सिट हासिल गर्ने अनुमान गरिएकाले उसलाई सरकार बनाउन अझै ३ सिटको अभाव हुनेछ।

अर्कातर्फ, नेतन्याहु समर्थक दलहरूले ५० सिट मात्र पाउने अनुमान गरिएको छ भने बाँकी १२ सिट अरब दलहरू (राम पार्टी र हदस-ताल) ले बाँड्ने देखिएकाले चुनावपछि पनि सरकार गठनको समीकरण अन्योलपूर्ण र जटिल बन्ने सङ्केत मिलेको छ।

कमेन्ट गर्नुहोस्
Share: