
पोखरा । कास्की प्रहरीले पोखराबाट लागूऔषध र नगदसहित छ जना पक्राउ गरेको छ । पोखरा-१ सिमपानीबाट शुक्रबार राती ७ बजे लागूऔषधको कारोवार गरिरहेको अवस्थामा छ जना युवाको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ घर भई कस्केरी बस्ने २१ वर्षीय लुकाश तामाङ र लामाचौर बस्ने सुवास तामाङ, तथा पर्वत घर भई बाटुलेचौर बस्ने २१ वर्षीय स्वस्तम गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
यस्तै सिमपानी बस्ने १९ वर्षीय बिकास तामाङ, लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरुङ र याम्दी बस्ने २० वर्षीय सुमित पुन मगर रहेका छन् । डिएसपी पासवानका अनुसार वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट आठ सय चक्की टापेन्टाडोल, आठ हजार रुपैया नगद र चार थान मोबाइल बरामद गरेको हो ।
पक्राउ परेकाहरु माथि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
