
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ का २०० परिवारले इन्डक्सन चुल्हो प्राप्त गरेका छन्। सोमबार आयोजित एक कार्यक्रमका बिच नगर प्रमुख धनराज आचार्यले कालाबाङ र भुम्दीसहित ५ वटा टोलका बासिन्दालाई ती विद्युतीय चुल्हो वितरण गरेका हुन् ।
बजारमा खाना पकाउने एलपीजी ग्यासको चरम अभाव भई नागरिकको चुल्हो नै निभ्ने अवस्था आएपछि विकल्पका रूपमा यो सहुलियत कार्यक्रम ल्याइएको बताइएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख आचार्यले स्वदेशी बिजुलीको खपत बढाउन र ग्यासको परनिर्भरता घटाउन यो कदम आवश्यक रहेको बताए ।
वडाध्यक्ष हिमलाल बरालका अनुसार आगामी दिनमा वडाका करिब २ हजार परिवारलाई विद्युतीय चुल्हो बाँड्ने लक्ष्य राखिएको छ। महानगरले पञ्चवर्षीय नगर ऊर्जा योजनाअनुसार सन् २०२९ सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने र वि.सं. २१०० (सन् २०४३) सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने दीर्घकालीन उद्देश्य लिएको छ।
यस योजनाको खाका विन्डपावर नेपाल र सहरी योजना आयोगले तयार पारेका हुन् भने जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र युरोपियन युनियनले सहयोग गरेका छन्।
हाल पोखरामा खाना पकाउन ८४.२५ प्रतिशत एलपीजी ग्यास, १०.२७ प्रतिशत दाउरा र ५.२५ प्रतिशत बायोग्यास प्रयोग भइरहेको छ भने विद्युत्को प्रयोग मात्र ०.२३ प्रतिशत छ।
घरायसी स्तरमा ९८.४५ प्रतिशत र व्यावसायिक क्षेत्रमा ८४.२५ प्रतिशत पुगेको ग्यासको अत्यधिक निर्भरतालाई न्यूनीकरण गर्न महानगरले विद्युतीय ऊर्जाको प्रयोगलाई तीव्र रूपमा प्रोत्साहन गरिरहेको छ।
