गण्डकी सरकारद्वारा ३७ कर्मचारीको सरुवा तथा पदस्थापन

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत ३७ जना उच्च तहका कर्मचारीको सरुवा र पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रशासनिक सुदृढीकरण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियरिङ, स्वास्थ्य, वन र प्रशासन सेवाका नवौँ र दशौँ तहका अधिकृतसहित उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

इन्जिनियरिङ सेवातर्फ दशौँ तहका किरण आचार्यलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाबाट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पोखरामा सरुवा गरिएको छ।

यस्तै सिँचाइतर्फ ९ औँ तहकी दीपा गौतमलाई नवलपरासीबाट तनहुँ, मोहनराज आचार्यलाई तनहुँबाट नवलपरासी, झलक मोहन ओझालाई म्याग्दीबाट स्याङ्जा, मिलन पौडेललाई गोरखाबाट बागलुङ, डम्बरदेव भट्टराईलाई मनाङबाट पोखरा र कमल बराललाई स्याङ्जाबाट मनाङ पठाइएको छ।

पूर्वाधार विकासतर्फ मुख्यमन्त्री कार्यालयमा रहेका जीवन अधिकारीलाई लमजुङ, विष्णुहरि अधिकारीलाई गोरखा, गुरुदत्त अधिकारीलाई स्याङ्जा, विष्णु पौडेललाई नवलपरासी, अनुप थापालाई बागलुङ, सुष्मा पाण्डेलाई तनहुँ, आशिष पोखरेललाई पर्वत र रविन चोखाललाई मुस्ताङमा पदस्थापन गरिएको छ।

यसै गरी रवीन्द्र तिवारीलाई तनहुँबाट सडक, पुल तथा प्रादेशिक भवन कार्यालय कास्की, महेन्द्र बहादुर बानियालाई म्याग्दीबाट भौतिक पूर्वाधार विकास मन्त्रालय र जीता गिरीलाई मुस्ताङबाट ग्रामीण सडक सञ्जाल सुधार आयोजना पोखरामा सरुवा गरिएको छ।

स्वास्थ्य सेवातर्फ डा. रामप्रबोध मण्डललाई स्याङ्जाबाट मनाङ, डा. उत्सव पौडेललाई कास्कीबाट स्याङ्जा, विद्या तामाङलाई मुस्ताङबाट म्याग्दी र भुवन ठकुराठीलाई म्याग्दीबाट मुस्ताङ सरुवा गरिएको छ भने डा. दिवाकर कोइरालालाई मनाङबाट प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्कीको जिम्मेवारी दिइएको छ।

वन सेवातर्फ दशौँ तहका कोमलराज काफ्लेलाई कास्कीबाट वन निर्देशनालय पोखरा र करुणा कार्कीलाई निर्देशनालयबाट कास्की पठाइएको छ। यस्तै शशिप्रसाद श्रेष्ठलाई मन्त्रालयबाट लमजुङ, दीपकप्रसाद पण्डितलाई लमजुङबाट बागलुङ, सरोज पन्थीलाई बागलुङबाट मन्त्रालय, चूडामणि बराललाई मुस्ताङबाट स्याङ्जा र सन्तोष खनाललाई लमजुङबाट मुस्ताङ सरुवा गरिएको छ।

प्रशासन सेवाका उपसचिवहरू डिल्लीराम रिजाललाई आर्थिक मामिला मन्त्रालयबाट प्रदेश सभा सचिवालय, हरिबहादुर खपाङ्गी मगरलाई सामाजिक विकासबाट कृषि मन्त्रालय, गुमादेवी शर्मालाई मुख्यमन्त्री कार्यालयबाट आर्थिक मामिला मन्त्रालय र प्रभाकर घिमिरेलाई प्रदेश सभा सचिवालयबाट प्रेस रजिष्ट्रारको कार्यालयमा पठाइएको छ।

साथै नवराज पोखरेललाई मुख्यमन्त्री कार्यालयबाट प्रदेश लोक सेवा आयोग, निराजन शर्मालाई प्रेस रजिष्ट्रारबाट स्याङ्जाको एकीकृत कार्यालय र पुष्पराज पौडेललाई कृषि मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा ल्याइएको छ।

सरकारको प्राथमिकता र कार्ययोजना अनुसार लामो समयदेखि एकै स्थानमा रहेका तथा पदस्थापन हुन बाँकी कर्मचारीहरूलाई प्राथमिकतामा राखेर नियमित सरुवा गरिएको मुख्यमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्। सरुवा भएका सम्पूर्ण कर्मचारीहरूलाई तत्कालै नयाँ कार्यक्षेत्रमा हाजिर हुन निर्देशन दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: