
पोखरा । पोखरा फोटोग्राफर संघ नेपालले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान-प्रदान जस्ता विविध कार्यक्रम आयोजना गरी १८७ औँ विश्व फोटोग्राफी दिवस मनाएको छ।
पोखराको मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड संगमटोलस्थित संघको कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो, जहाँ पूर्वअध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले नयाँ कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले यस अवसरले फोटोग्राफरहरू बीचको आपसी एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा वक्ताहरूले प्रविधिको तीव्र विकाससँगै फोटोग्राफी क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै व्यावसायिकता र गुणस्तर अभिवृद्धिमा जोड दिएका थिए।
साथै, फोटोग्राफी केवल तस्बिर खिच्ने माध्यम मात्र नभई समाज, संस्कृति, प्रकृति र इतिहासलाई सुरक्षित राख्ने प्रभावकारी अभिलेख भएको धारणा राखिएको थियो।
कार्यक्रममा पूर्वअध्यक्षहरू, संरक्षक, पत्रकार तथा बुद्धिजीवीहरूले शुभकामना व्यक्त गरका थिए भने उपाध्यक्ष नन्दकला पौडेलले स्वागत र सचिव लक्ष्मीपती पौडेलले सञ्चालन गरका थिए ।
नयाँ कार्यालयलाई सबै फोटोग्राफरहरूको साझा थलोका रूपमा विकास गर्दै आगामी दिनमा व्यवसायीको हकहित र क्षमता अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता संघले जनाएको छ।


