विजयपुर खोलाले बगाएर बेपत्ता बालक ओमन राईको शव सेती नदी किनारमा फेला

Share:

पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको शव खोजी कार्यको छैटौँ दिन बुधबार फेला परेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका-८ पुल्चोकस्थित सेती नदी किनारमा उनको शव भेटिएको हो।

खोटाङ घर भई पोखरा-१४ चाउथे बस्दै आएका राईको शव उनकी आमाले पहिचान गरेकी हुन् भने पोस्टमार्टमका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ।

गत साउन ३० गते दिउँसो पोखरा-१४ स्थित विजयपुर खोला तर्ने क्रममा ओमनसँगै स्याङ्जाका १४ वर्षीय निक्सन गुरुङलाई खोलाले बगाएको थियो।

निक्सनको शव भने भदौ २ गते नै घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि अड्किएको अवस्थामा फेला परिसकेको थियो।

घटनालगत्तै सशस्त्र प्रहरीको गोताखोर तथा रोप रेस्क्यु टोली, नेपाली सेनाको कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोली खोजीमा खटिएको थियो।

गहिरो खोँच र पानीको उच्च बहावका बीच डोरी र एक्साभेटरको प्रयोग गरी गरिएको कठिन खोजी प्रयासपछि ओमनको शव फेला परेको हो। यससँगै सुरक्षा निकायको ६ दिने खोजी अभियान टुंगिएको छ।

कमेन्ट गर्नुहोस्
Share: