
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता नदिने भएका छन् । रास्वपाको विधानले ५१ जना केन्द्रीय सदस्य तथा उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता र कोषाध्यक्षलगायतका पदाधिकारी मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको भए पनि लामिछानेले समयसीमा ५ वर्षको भएकाले हतार नगरी क्रमबद्ध रूपमा पदपूर्ति गर्ने संकेत गरेका छन् ।
शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकको एजेन्डामा मनोनयनको विषय समेटिए पनि सबै रिक्त पदमा तुरुन्तै मनोनयन हुने सम्भावना नरहेको र आवश्यकताअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः थप्दै लगिने लामिछानेले स्पष्ट पारे ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पक्षबाट पनि पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत हुने चर्चा रहेका बेला मधेश प्रदेशको अधिवेशन सकिएपछि मात्र नाम अघि सारिने बालेननिकट नेताहरूले बताएका छन् । सभापति लामिछानेले भने पार्टीमा दुई धार रहेको र बाहिरबाट नाम दिइने भन्ने कुराको खण्डन गर्दै पार्टीभित्रको छलफलका आधारमा निर्णय हुने बताए ।
महाधिवेशनपछि दोस्रोपटक बस्न लागेको यो केन्द्रीय समिति बैठकमा मनोनयनको एजेन्डा भए पनि बालेन पक्षबाट तत्कालै कोही पनि मनोनीत नहुने बताइएको । यसैबीच, मधेश प्रदेशमा रोकिएका वडा, पालिका तथा जिल्ला तहका अधिवेशनहरू सम्पन्न गराउने वातावरण बनाउन सभापति लामिछाने आफैं मधेश यात्रामा निस्कने तयारी छ ।
मधेशका आठ जिल्लामध्ये हालसम्म पर्साको मात्रै जिल्ला अधिवेशन सकिएकाले वस्तुस्थिति अध्ययन गर्न लामिछानेले भदौ १२ गतेपछि पर्साको ठोरीबाट मधेश भ्रमण सुरु गर्ने रास्वपाका एक सांसदले जानकारी दिएका छन् ।
