
काठमाडौं । गत वर्षको भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पुनर्निर्माण कार्य मिश्रित गतिमा अघि बढेको छ।
आन्दोलनको एक वर्ष पूरा हुँदा सिंहदरबारका अधिकांश मन्त्रालयहरू पूर्ववत् सञ्चालनमा आइसकेका छन् भने राणाकालीन ऐतिहासिक मुख्य पश्चिमी मोहडालगायतका केही संरचनाहरूको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन। आन्दोलनकारीहरूको मुख्य निसानामा परेको सिंहदरबारको मुख्य भवन अर्थात् पश्चिमी मोहडाको पुनर्निर्माणमा प्राविधिक जटिलता देखिएको छ।
बेलायती बैठक, स्टेट हल र चन्द्रशमशेरको शयनकक्षसहितका ऐतिहासिक संरचना रहेको यस खण्डमा लामो समयसम्म आगो लागेका कारण बाहिरी संरचना ध्वस्त हुनुका साथै भित्री भागसमेत मक्किएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार विश्व बैंकको प्राविधिक सहयोगमा गरिएको अध्ययन र पुरातत्त्व विभागको सुझावअनुसार डिजाइनलाई अन्तिम रूप दिने काम भइरहेको छ।
विभागको सहमति प्राप्त भएलगत्तै ठेक्का आह्वान गरी काम अघि बढाइने जनाइएको छ। त्यसैगरी, अत्यधिक क्षति पुगेको तत्कालीन गृह मन्त्रालय भवनको अध्ययन र डिजाइन सकिए पनि ठेक्का प्रक्रिया अघि बढाउन बाँकी छ।
सिंहदरबारका पूर्वी, दक्षिणी र उत्तरी मोहडाको पुनर्निर्माण भने अन्तिम चरणमा पुगेको छ। आगामी असोज मसान्तभित्र यी तीनवटै मोहडाको काम सकिने र त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहाँ सर्ने तयारी छ।
सामान्य क्षति पुगेका परराष्ट्र, अर्थ, ऊर्जा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवनहरू मर्मतसम्भार र रंगरोगनपछि यसअघि नै सञ्चालनमा आइसकेका छन्।
यसैबीच, विश्वप्रसिद्ध अमेरिकी आर्किटेक्ट लुइस आई कानले डिजाइन गरेको तत्कालीन स्वास्थ्य मन्त्रालयको भवन पनि पुरानै वास्तुकलाको स्वरूपमा पुनर्निर्माण गर्ने तयारी गरिएको छ भने यसको ठेक्का लाग्न बाँकी छ।
सिंहदरबारको स्वीकृत मास्टरप्लानअनुसार आगजनीमा पूर्ण रूपमा प्रभावित भएका नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलका कार्यालयहरू भने अब पुनः निर्माण नगरिने भएका छन्।
विक्रम संवत् १९६० मा चन्द्रशमशेरद्वारा निर्माण गरिएको यो ऐतिहासिक दरबारको पश्चिमी मोहडाको छतमा रहेको सिंहको प्रतिमूर्तिमा पुनः राष्ट्रिय झन्डा फहराउन अब यस खण्डको पुनर्निर्माण पूर्ण रूपमा सम्पन्न हुनुपर्नेछ।
