
जिल्ला प्रहरी कार्यालय कास्कीले ११ हजारभन्दा बढी लागू औषध ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ। लागू औषध मुद्दाका फरार प्रतिवादी रहेका पोखरा महानगरपालिका वडा नं. १८ अधेरीकुना बस्ने ४० वर्षीय अनुप छत्कुलीलाई प्रहरीले निजकै घरकोठाबाट नियन्त्रणमा लिएको हो।
अधेरीकुनामा लागू औषध बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ ४ गते राति करिब ९:४५ बजे छापा मारेको थियो।
त्यस क्रममा छत्कुलीको कोठामा झोलाभित्र लुकाएर राखिएको ११ हजार ७६८ चक्की बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
बरामद लागू औषधसहित नियन्त्रणमा लिइएका छत्कुलीमाथि लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
