अस्ताम गाउँमा प्रधानमन्त्री बालेनको अप्रत्याशित भ्रमण, स्थानीयमा खुसी र आशा

Share:

पोखरा । कास्कीको पर्यटकीय तथा प्राकृतिक रूपमा मनोरम माछापुच्छ्रे गाउँपालिका-६, अस्ताम गाउँमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अप्रत्याशित भ्रमणले गाउँवासीमा उत्साह र कौतूहल सिर्जना गरेको छ। अन्नपूर्ण इको भिलेजमा बस्ने तालिकाअनुसार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि मात्र स्थानीयले देशका कार्यकारी प्रमुख आफ्नो गाउँमा आउँदै गरेको सुइँको पाएका थिए।

लामो समयदेखि पुराना राजनीतिक दलहरूलाई मतदान गरे पनि खासै परिवर्तन नभएको गुनासो गर्दै स्थानीय ज्ञानु अधिकारीले नयाँ नेतृत्वबाट सुशासन, कडा कानुन र विकासको ठूलो आशा राखेको बताइन्। साथै, उनले देशमा बढ्दो अपराध र बालिका तथा महिला हिंसामा संलग्नहरूलाई कठोर सजाय दिने कानुनी कडाइको माग समेत गरिन्।

पोखरा नजिकै रहेर पनि भौगोलिक विकटताका कारण अस्ताम गाउँ अझै धेरै आधारभूत पूर्वाधारबाट वञ्चित छ। विश्वविद्यालयका प्राध्यापक नन्दलाल अधिकारी र स्थानीय रामप्रसाद तथा शोभाखर अधिकारीका अनुसार गाउँको प्रमुख समस्या कच्ची सडक र खानेपानी तथा सिँचाइको चरम अभाव हो।

हिउँदमा काकाकुल हुनुपर्ने र बिरामी पर्दा अस्पताल पुर्‍याउन समेत गाह्रो हुने अवस्था औंल्याउँदै स्थानीयहरूले सडक कालोपत्र र व्यवस्थित खानेपानीको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्। खानेपानी र सिँचाइको उचित प्रबन्ध भएमा यहाँका कृषकले उत्पादन गरेको ताजा तरकारी नजिकैको पोखरा बजारमा बेचेर आर्थिक रूपमा समृद्ध बन्न सक्ने उनीहरूको विश्वास छ।

समस्याका बाबजुद अस्ताम प्रकृतिको अनुपम वरदान पाएको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरि हिमशृंखलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ। पोखरामा गर्मी हुँदा पनि वर्षैभरि शीतल हावापानी रहने भएकाले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि योग, ध्यान र प्रकृतिको आनन्द लिने केन्द्र बनेको छ।

स्थानीयहरूले यहाँका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदका पूर्वाधार निर्माण गर्न सके देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा राखेका छन्। प्रधानमन्त्रीको यस भ्रमणले थाती रहेका समस्या समाधान भई गाउँको मुहार फेरिनेमा अस्तामवासी निकै उत्साहित र आशावादी देखिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: