श्रवणकुमार ज्येष्ठ नागरिक केन्द्रले असोज दोस्रो सातादेखि सेवा सुरु गर्ने

Share:

पोखरा । पोखराको बाटुलेचौरस्थित कोलगैरामा नवनिर्मित ‘श्रवणकुमार ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ले आगामी असोज दोस्रो सातादेखि आफ्नो सेवा सञ्चालन गर्ने तयारी तीव्र पारेको छ।

स्थानीय व्यक्ति, विभिन्न सङ्घ-संस्था तथा प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको यस केन्द्रले आगामी असोज १४ गते (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को अवसर पारेर औपचारिक रूपमा सेवा सुरु गर्ने भएको हो।

ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सहभागिता वृद्धि गर्दै उनीहरूलाई घरजस्तै सहज र पारिवारिक वातावरण प्रदान गर्ने लक्ष्यका साथ केन्द्र सञ्चालन गर्न लागिएको अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए।

केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म ज्येष्ठ नागरिकहरूलाई राखी भेटघाट, मनोरञ्जन, स्वास्थ्य परामर्श र सामाजिक गतिविधिमा सहभागी गराइनेछ।

केन्द्रको दिगो सञ्चालनका लागि समितिले दीर्घकालीन योजनाका साथ स्थानीय क्लब, आमा समूह, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूसँग समन्वय र छलफल अगाडि बढाएको छ।

संस्थाले सञ्चालन खर्च र अक्षयकोष निर्माणका लागि साधारण र १० हजार रुपैयाँ शुल्क तोकिएको आजीवन सदस्यता अभियानसमेत सुरु गरेको छ।

निर्माण समितिका संयोजक चित्रबहादुर थापाका अनुसार करिब ४ करोड रुपैयाँको गुरुयोजनामध्ये हालसम्म करिब २ करोड ४० लाख रुपैयाँको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने आर्थिक स्रोत जुट्दै जाँदा पर्खाल, हरियाली बगैँचा र सडक निर्माणका बाँकी काम पूरा गरिनेछ।

२०७७ सालमा पोखरा महानगरको ११ लाख बजेटबाट निर्माण सुरु भई २०८२ जेठ २४ गते उद्घाटन भएको यस शान्त र हरियाली वातावरणयुक्त केन्द्रको दिगो व्यवस्थापनका लागि हालै आयोजित छलफलमा सञ्चारकर्मीहरूले आर्थिक पारदर्शिता, बैंकिङ क्षेत्रको सहयोग, देउसी-भैलो तथा क्यालेन्डर प्रकाशनमार्फत कोष संकलन गर्न सुझाव दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: