संघीय संसद्का पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

Share:

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ । बिहान साढे ९ बजे बस्ने बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री र सचिव, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल, राष्ट्रिय प्रकृति संरक्षण कोषका संयोजकलाई बोलाइएको छ ।

पूर्वाधार विकास समितिमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठकमा लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वर, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), टेकु, नेपाल चेम्बर अफ कमर्स, जमल, नेपाल उद्योग परिसंघ (सीएनआई), थापाथली र नेपाल-इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई), नारायणचौरका प्रतिनिधिलाई बोलाइएको छ ।

बैठक बिहान १० बजे बस्नेछ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । दिउँसो १ बजे बस्ने बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री र सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषयविज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: