
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवामा कार्यरत अधिकृतस्तर (सातौँ/आठौँ तह) का कर्मचारीहरूका लागि ३० कार्यदिनको सेवाकालीन तालिम २०८३ भदौ ८ गतेदेखि पोखरामा एकैसाथ सुरु भएको छ। कुल ६० जना अधिकृतहरूको सहभागिता रहेको उक्त तालिमलाई दुई फरक/फरक स्थानमा दुई समूहमा विभाजन गरी उद्घाटन गरिएको हो।
प्रदेश निजामती सेवातर्फको तालिम कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, मालेपाटनमा सुरु भएको छ। प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम बहादुर कार्कीले ब्यानरमा हस्ताक्षर गरी तालिमको शुभारम्भ गरे।
सो अवसरमा मन्त्री कार्कीले यस्ता तालिमले कर्मचारीको क्षमता, ज्ञान र सिप विकास गर्दै वृत्तिविकास र पदोन्नतिमा सहयोग पुर्याउने बताए। साथै, कर्मचारीमार्फत नै सरकारको उपस्थिति महसुस हुने भएकाले नागरिकमैत्री र सुशासनयुक्त सेवा प्रवाहमा जोड दिन उनले सहभागीहरूलाई आग्रह गरे।
उक्त कार्यक्रममा तालिम समन्वय विश्लेषक भीम बिकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन लेखापाल दिपेन्द्र पौडेलले गरेका थिए । समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पीएलजीएसपीतर्फका कर्मचारीहरू प्रणय शर्मा, मिलन श्रेष्ठ र प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, स्थानीय सेवातर्फका अधिकृतहरूका लागि बागवानी अनुसन्धान केन्द्र, मालेपाटनमा छुट्टै तालिम सुरु गरिएको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले ब्यानरमा हस्ताक्षर गरेर तालिमको उद्घाटन गरे।
कुलपति तिवारीले तालिमले अधिकृतहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सामूहिक रूपमा नयाँ ज्ञानको सिर्जना गर्ने र कार्यक्षेत्रमा सुशासन कायम गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक ई. सुजन नेपालले सहभागीहरूलाई स्वागत गर्दै तालिमको विषयवस्तुबारे प्रकाश पारेका थिए भने प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले कार्यक्रम सञ्चालन गर्दै तालिमको प्रशिक्षण विधि र मूल्याङ्कन प्रक्रियाबारे जानकारी गराएका थिए ।
अनुसन्धान अधिकृत पौडेलका अनुसार ३० दिनसम्म चल्ने यस तालिममा प्रतिष्ठानको विज्ञ रोस्टर सूचीमा रहेका प्रशिक्षकहरू, सङ्घ तथा प्रदेशका उच्चपदस्थ अनुभवी कर्मचारीहरू र प्रतिष्ठानका आन्तरिक प्रशिक्षकहरूले सहजीकरण गर्नेछन् ।


