
काठमाडौं। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ। बाढीपछि विभिन्न प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी र उद्धार टोलीले खोज तथा उद्धारका क्रममा हालसम्म ५५ जनाको शव फेला पारेका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार फेला परेका मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला रहेका छन् भने दुई जना मृतकको अझै पहिचान खुल्न सकेको छैन।
बाढीका कारण बहँदै आएका शवहरू विभिन्न जिल्लाका नदी किनारमा फेला परेका छन्। प्रहरी तथ्याङ्क अनुसार रसुवामा १ पुरुष, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना, धादिङमा ११ महिला र ५ पुरुष गरी १६ जना तथा चितवनमा ५ महिला र १३ पुरुष गरी १८ जनाको शव भेटिएको छ।
यस्तै गोरखामा १ महिला, ६ पुरुष र पहिचान नखुलेका २ जना गरी ९ वटा शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९३ जना घाइतेको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३ जना, नुवाकोटका ४७ जना र धादिङका ३ जना रहेका छन्।
उद्धार गरिएका सम्पूर्ण घाइतेहरूलाई उपचारका लागि तत्कालै नजिकैका स्थानीय स्वास्थ्य संस्था तथा विभिन्न अस्पतालहरूमा पठाइएको छ। प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ।
