बाढी पीडितलाई गण्डकी सरकारको ४ करोड सहयोग

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार र राहत कोषमा चार करोड दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्पीडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ रकम प्रदान गर्ने निर्णय गरिएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार अपिल जारी गर्दै यस विपद्को घडीमा सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह पनि गरेका छन्।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार आफ्नो सामर्थ्यअनुसार, उद्धार, खोजी, उपचार तथा राहतका कार्यमा आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको पनि जनाएका छन्।

‘रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायत विभिन्न स्थानमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र पीडा होइन, यो सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती हो,’ मुख्यमन्त्री पाण्डेले भनेका छन्, ‘संकटको यस घडीमा पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग गर्नु हामी सबैको साझा मानवीय दायित्व हो।’

उनले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र सम्प्रेषण गर्न सबैमा विशेष आग्रह समेत गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघबाट ७५ हजार

पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले तत्कालका निम्ति संघको तर्फबाट ७५ हजार राहत कोषका निम्ति छुट्टयाउने निर्णय गरेको ।

यससँगै संघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई थप रकम प्रदानका निम्ति आह्वान पनि गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: