‘फोकटको सल्लाह’ महँगो पर्दा सचिव निरौलालाई सोझै रसुवाको बाढी क्षेत्रमा खटाइयो

Share:

काठमाडौं । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे सामाजिक सञ्जालमा सल्लाह दिएका कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले सोही जिम्मेवारी दिएर रसुवा खटाएको छ । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उनलाई रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाएको हो । निरौलाले फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै शव व्यवस्थापनबारे आफ्नो अनुभव सार्वजनिक गरेको भोलिपल्टै मन्त्री प्रतिभा रावलले उनलाई कार्यक्षेत्रमा पठाउने निर्णय गरेकी हुन् ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका व्यक्तिहरूको खोजी, उद्धार र शव व्यवस्थापनका लागि अनुभवी कर्मचारीको आवश्यकता परेकाले निरौलालाई खटाइएको मन्त्रालयले जनाएको छ । रसुवाको भौगोलिक संवेदनशीलता र बाढीको निरन्तर जोखिमका बीच हराएका तथा मृत्यु भएकाहरूको व्यवस्थापन गर्न गृह प्रशासनमा अनुभव भएका कर्मचारी परिचालन गर्नुपर्ने मन्त्रालयको ठम्याइ छ । उनलाई टिमुरे क्षेत्रमा केन्द्रित भएर रसुवा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न भनिएको छ ।

निरौलाले भदौ १३ गते फेसबुकमा एउटा स्टाटस लेख्दै चितवनमा हतार गरेर शव गाडिएको समाचारप्रति असन्तुष्टि जनाएका थिए । उनले ‘हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो’ भन्दै लेख्न सुरु गरेका थिए । कोभिड महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै उनले मृतकको धर्म र परम्परा अनुसार अन्तिम संस्कार गर्नुपर्ने सुझाव दिएका थिए । शव व्यवस्थापनका क्रममा आफन्तको भावनामा चोट पुग्ने काम नगर्न उनले आग्रह गरेका थिए । कोभिड कालमा सुरक्षा समितिबाट निर्णय गराएर नेपाली सेनामार्फत घाटसम्म शव पुर्‍याउने व्यवस्था मिलाएको उनले स्मरण गरेका थिए । सबै मृतकको अन्तिम संस्कार एउटै तरिकाले गर्ने कुरा आफूलाई उचित नलागेको तर्क उनले गरेका थिए ।

‘मृतक वा परिवार गुमाएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लास खोज्छन्,’ उनले स्टाटसमा लेखेका थिए । उनले त्यसबेला सुनसरीका धेरै घाटमा दाहसंस्कार गर्न नदिँदा मोरङमा सहज वातावरण मिलाएको अनुभव समेत साझा गरेका थिए । कोशी प्रदेशका सचिव रहेका निरौलालाई अर्को व्यवस्था नभएसम्मका लागि रसुवामा काजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ । उनको तलब र भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ । उनले फेसबुकमा राखेको उक्त स्टाटस अहिले भने हटाइसकेका छन् ।

सरकारले विपद्को यो घडीमा उनको पुरानो अनुभव र हालै सार्वजनिक गरेको धारणालाई ध्यान दिँदै जिम्मेवारी दिएको हो । बाढी प्रभावित क्षेत्रमा शवको पहिचान र व्यवस्थापन गर्ने कार्य अब उनको नेतृत्वमा अघि बढ्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: