आदर्श युवा क्लबद्वारा बाढीपीडितलाई चार लाख रुपैयाँ सहयोग

Share:

पोखरा महानगरपालिका-२९ स्थित आदर्श युवा क्लबले रसुवाका बाढीप्रभावितहरूका लागि चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। गत भदौ १० गते गएको विनाशकारी बाढीबाट पीडित बनेका नागरिकको सहायताका लागि क्लबले आफूले सञ्चालन गर्दै आएको ‘आदर्श कप’ प्रतियोगिताबाट बचत भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

मंगलबार आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले पोखरा-२९ की वडा सदस्य निर्मला पौडेलको रोहबरमा उक्त राहत रकमको घोषणा गरिन् । विगतका वर्षहरूमा तीजका अवसरमा आयोजना गरिँदै आएको दर खुवाउने कार्यक्रमलाई स्थगित गरी यसपटक उक्त बजेट बाढीपीडितको राहतमा खर्चिने निर्णय गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

खेलकुद गतिविधिसँगै परोपकारी कार्यलाई निरन्तरता दिने क्लबको यस कदमको स्थानीय जनप्रतिनिधि तथा उद्योगी-व्यवसायीहरूले प्रशंसा गरेका छन्। कार्यक्रममा वडा सदस्य निर्मला पौडेल, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले विपद्को यस कठिन घडीमा सरकार र पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै अन्य संघसंस्थालाई पनि राहतमा जुट्न आह्वान गरिन् ।

क्लबका सचिव सन्तोष गुरुङले सञ्चालन गर्नुभएको उक्त घोषणा कार्यक्रममा क्लबका सल्लाहकार चेतबहादुर गुरुङ, पूर्वअध्यक्ष विजय गुरुङका साथै स्थानीय टोल विकास संस्था, आमा समूह र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: