गण्डकी प्रदेश सरकारमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री नियुक्त

Share:

पोखरा। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बनेका छन्। गण्डकी सरकारबाट नेकपा एमालेका चार जना मन्त्री बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री देवकोटाले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै पुरानै ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। यस्तै, खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेलाई भने यसअघि एमालेका गोविन्दबहादुर नेपालीले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ।

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा देवकोटाको यो तेस्रो मन्त्री पुनरागमन हो। यसअघि पनि ऊर्जा मन्त्रीकै जिम्मेवारीमा रहेका बेला उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका थिए।

माओवादीको सिफारिसमा प्रदेश सभाले सांसद पदबाट मुक्त गरेपछि उनको मन्त्री पद समेत गुमेको थियो। तर, सर्वोच्च अदालतले उनलाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उनलाई पुनः सरकारमा सहभागी गराएका थिए।

गत वर्षको जेन्जी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिए पनि नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायम नै राखेका थिए। हाल एमाले सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेसपाको समर्थनमा कांग्रेस नेतृत्वको सरकारसँग प्रष्ट बहुमत रहेको छ।

गोरखाबाट राजनीतिमा स्थापित देवकोटाको पछिल्लो राजनीतिक यात्रा निकै उतारचढावपूर्ण रहँदै आएको छ। उनी २०७९ को आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीचको चुनावी तालमेलअन्तर्गत माओवादीको चुनावी चिह्न ‘गोलाकार भित्रको हँसिया हथौडा’ लिएर निर्वाचित भएका थिए।

पछि गण्डकी प्रदेशमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने क्रममा माओवादी केन्द्रले विपक्षमा मतदान गर्न जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले सरकारको पक्षमा ‘फ्लोर क्रस’ गरेका थिए।

आफू नेसपाको छुट्टै अस्तित्वमा रहेकाले माओवादीको ह्विप नलाग्ने दाबी गर्दै पाण्डेलाई मतदान गरेर सरकार जोगाएपछि नै उनलाई पहिलो पटक ऊर्जा मन्त्री बनाइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: