
पोखरा । पोखरामा कास्की जिल्लाका गायन तथा नृत्यतर्फका लुकेका प्रतिभाहरूलाई खोजी गरी उचित अवसर प्रदान गर्ने उद्देश्यका साथ ‘कास्की आइडल सिजन-२’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। साँझ क्रियसन्स प्रा.लि.को आयोजना तथा वरिष्ठ कलाकार कर्णदासको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन समारोहसँगै प्रतियोगिताको दोस्रो संस्करणको यात्रा सुरु भएको हो।
कार्यक्रम संयोजक आदर्श पोखरेलका अनुसार नयाँ प्रतिभाको पहिचान, प्रोत्साहन र उनीहरूका लागि भविष्यमा समेत अवसर सिर्जना गर्नु नै यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ। उद्घाटन चरणबाट गायनतर्फ २४ जना र नृत्यतर्फ २४ जना गरी कुल ४८ जना प्रतियोगीहरू आगामी प्रतिस्पर्धाका लागि छनोट भएका छन्। विभिन्न चरणहरू पार गर्दै आयोजना हुने प्रतियोगिताको एलिमिनेसन राउन्ड असोज ३, १० र १७ गते सञ्चालन हुनेछ।
असोजका तीन चरणका प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट प्रतियोगीहरू कार्तिक १४ गते हुने ग्रान्ड फिनालेमा भिड्नेछन्। प्रतियोगिताको अन्तिम मूल्याङ्कनमा ४० प्रतिशत निर्णायक, ४० प्रतिशत भोटिङ र २० प्रतिशत दर्शकको अङ्कभार रहने व्यवस्था गरिएको छ। आयोजकले भोटिङका नाममा प्रतियोगीलाई अनावश्यक दबाब नदिई विशुद्ध प्रतिभाका आधारमा उत्कृष्ट छनोट गर्ने वातावरण मिलाइने जनाएको छ।
प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगीहरूलाई राष्ट्रिय गीतमा काम गर्ने अवसर प्रदान गर्ने आयोजकको योजना छ।
पोखरा विश्वविद्यालयकी प्रोफेसर दीपमाला श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सुस्मिता बास्तोला र साँझ क्रिएसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए । समारोहमा कला, साहित्य, शिक्षा, समाजसेवा र प्रशासन क्षेत्रका अनेकौँ प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
