
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (असोज ८) दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।
मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका साथै सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै तथा मधेस र लुम्बिनी प्रदेशका एक/दई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू-भाग एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।
महाशाखाका अनुसार, मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ ।
साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।
