
पोखरा । अञ्जुली आवासीय माध्यामिक विद्यालय पोखरा-१ बगरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनस्र्थापनका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले पोखरा-१ बगर स्थित अञ्जुली आवासीय माध्यामिक विद्यालयले एन प्याब्सन कास्की मार्फत १ लाख ५ हजार रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो ।
विद्यालयका संस्थापक निर्देशक राजु केसी, प्रिन्सिपल सुनिता कुँवर केसीले एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, सचिव शिवराज पौडेल र कोषाध्यक्ष राजु कायस्थलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एन प्याब्सन कास्कीमार्फत प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिएको हो। प्राकृतिक विपद्का कारण प्रभावित बनेका परिवारलाई राहत उपलब्ध गराउने तथा उनीहरूको पुनस्र्थापनामा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको जनाइएको छ।
सहयोग हस्तान्तरणका क्रममा विद्यालयका संस्थापक निर्देशक राजु केसीले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए। उनले बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य बनाउन सरकारसँगै विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा नागरिक समाजको सहकार्य आवश्यक रहेको बताए ।
विद्यालयकी प्रिन्सिपल सुनिता कुँवर केसीले शिक्षा प्रदान गर्ने संस्थाको भूमिका कक्षाकोठामा मात्र सीमित नरहेको बताउँदै मानवीय सेवामा समेत शैक्षिक संस्थाले योगदान गर्नुपर्नेमा जोड दिइन्। उनले विपद्का कारण प्रभावित बालबालिका तथा परिवारको शैक्षिक र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग आवश्यक रहेको बताइन्।
एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनस्र्थापनाका कार्यक्रम आवश्यक रहेको बताए। एन प्याब्सन कास्कीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि गरिएको उक्त सहयोगले विपद्को समयमा निजी शैक्षिक संस्था तथा सामाजिक संघसंस्थाको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।
