संयुक्त राष्ट्रसंघको सम्बोधनमा प्रधानमन्त्री बालेनले के-के भने ?

Share:

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशा गरी चार मुख्य विषयमा केन्द्रित भई आफ्नो ओझपूर्ण मन्तव्य व्यक्त गरेका छन्।

महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका प्रधानमन्त्री शाहले शुक्रबार बिहान सभालाई सम्बोधन गर्दै “म यहाँ विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशाका बारेमा कुरा गर्न उपस्थित छु” भन्दै नेपालको तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विश्वव्यापी विभेद र विकसित देशहरूको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै विश्वव्यापी रसद प्रणालीको विसङ्गतिमाथि कडा प्रहार गरे।

“अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद ७२ घण्टाभित्र तोकिएको समयमा विश्वको जुनसुकै ठाउँमा पुग्ने संयन्त्र बनाउने विश्व नेपालका किसानका लागि मल र इन्धन आपूर्तिमा भने कमजोर छ,” उनले भने, “हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छौँ।”

भुक्तानी गर्न सक्ने जुनसुकै देशले आफ्ना लागि आवश्यक आधारभूत वस्तु सहजै किन्न पाउनुपर्ने अधिकारको वकालत गर्दै उनले विश्वव्यापी असमानता अन्त्य हुनुपर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो अङ्ग्रेजी मन्तव्य टुङ्ग्याएपछि प्रधानमन्त्री शाहले अन्तिममा नेपाली भाषाको प्रयोग गर्दै भावुक र आध्यात्मिक सन्देश दिएका थिए।

उनले नेपाली भाषामा भने, “भगवान् पशुपतिनाथले सारा विश्वको कल्याण गरून्। हामी सबै बुद्धले देखाउनुभएको बाटोमा हिँड्न सकौँ।” यसरी शान्ति र सद्भावको सन्देशसहित उनले राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट प्रभावकारी र ऐतिहासिक सम्बोधन पूरा गरे।

कमेन्ट गर्नुहोस्
Share: