
काठमाडौं । काठमाडौं आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्। बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो। धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ।
कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले जानकारी दिए।
बिहीबार साँझदेखि रातभर आवतजावतमा रोक लगाइएको पृथ्वीराजमार्गमा शुक्रबार बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्न दिने तयारी स्थानीय प्रशासनको थियो। तर, अब यो राजमार्ग अनिश्चित कालको लागि बन्द भएको एसपी खड्काले बताए।
‘पहिरो पन्छाउने प्रयास भैरहे पनि निरन्तरको वर्षाका कारण समस्या भएको छ,’ एसपी खड्काले भने। गएको भदौ १४ गते त्रिशूली नदीको काटानको कारण कृष्णभिर क्षेत्रको सडक भासिएपछि दुई साता लगाएर डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो। सोही डाइभर्सनसहितका ठाउँमा पहिरो झरेको हो।
यसैबिच आज बिहान ४ः३० बजे बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका-७ स्थित चारसयबेँसी र रोशी-८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए।
वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि बिहीबारदेखि नै रातको समयमा बीपी राजमार्गको काभ्रे खण्ड बन्द गरिएको थियो। स्थानीय प्रशासनले असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाएकाे प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। पहिरो खसेपछि कान्तिलोकपथमा पनि आवतजावत पूर्णरूपमा रोखिएको ललितपुरका एसपी गाैतम मिश्रले जानकारी दिए।
