
पोखरा । जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रीयाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सकिएको छ। बिहीवार र शुक्रबार दुई दिन सम्म चलेको सो समिक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
समापनका अवसरमा प्रमुख पौडेलले गैरसरकारी संस्थाहरू थप प्रभावकारी, व्यवस्थित र थप परिणाममुखी बनाउन समिक्षा सहयोगी भएको उल्लेख गरे । देखिएका कमिकमजोरी सुधारेर थप परिमार्जन र परिष्कारमुलक कार्यमा अगाडि बढ्न आग्रह गरे ।
आफू निर्बाचित भएदेखि नै सरकारी एवम् गैरसरकारी संस्था सहित सामाजिक संस्थाहरूको समेत पारदर्शीता ,जवाफदेहिता र उत्तरदायीत्वमा जोड दिँदै आएको स्मरण गर्दै नियामक निकाय स्थानिय तहहरू समेत थप क्रीयाशिल हुनुपर्नेमा जोड दिए ।
राष्ट्र विकास र समृद्धिको यात्रा गैरसरकारी संस्थाहरूको उपस्थिति र सहकार्य बिना सम्भव नहुने उल्लेख गरे । कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नागरिक समाजका अगुवा रामबहादुर पौडेल ,पोखरा महानगर पालिकाका बाल कल्याण अधिकारी बेल कुमारी गुरुङ सहितले गैरसरकारी संस्थाका कार्य र भाबी भुमिका सम्बन्धमा प्रकाश पारेकी थिइन् ।
शुक्रबार असहाय बाल उपकार संघ, आइ एन एफ नेपाल हरियो खर्क अस्पताल, लिबर्ड, रेन्बो चिल्ड्रेन होम,कर्मा फ्लाइट ,गोनेशा, नेपाल हाउस कास्की, समन्वय नेपाल बाल गृह, सृजना बिकास केन्द्र, सिबिन नेपाल सहितले समिक्षा प्रस्तुत गरे।
त्यसैगरी बिहीबारको समिक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समुह, चिल्ड्रेन नेपाल ,कोपिला नेपाल, दयाको सेवा नेपाल, साना हातहरू नेपाल, मानव अधिकारका लागि महिला एकल महिला समुह कास्की ,बाल हितकारी परियोजना ,थ्री एन्जल्स नेपाल, बहिनी एडुकेयर फाउन्डेसन, कोपिला चिल्ड्रेन होम,महिला सशक्तीकरण समाज, एस ओ एस बाहिनी ,सहित पन्ध्र वटा संस्थाले आ आफ्नो संस्थाको सञ्चालित कार्यक्रमको विवरणसहित समिक्षा प्रस्तुत गरेका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिइन् ।
जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
