कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा, नदीहरूमा जलसतह बढ्दा सतर्कता अपनाउन आग्रह

Share:

पोखरा । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा मापन गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा पाल्पाको अर्चलेमा १७२, गुल्मीको भार्सेमा १७०.८, म्याग्दीको कुहुनमा १६५.२ र दर्वाङमा १६१ मिलिमिटर वर्षा भएको छ। अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले तथा स्याङ्जाको पाँचमूल क्षेत्रमा वर्षा जारी छ।

लगातारको वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका नदीनालामा जलसतह बढेर सतर्कता तह नजिक पुगेको छ भने बाँकेको किरन नाला र म्याग्दीको मङ्गलघाटमा नदीले सतर्कता तह पार गरिसकेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा कमजोर भई न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना छ।

शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षा रोकिए पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बागमती, कोशी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

तराईका भू-भाग तथा पहाडी खोच एवं उपत्यकाहरूमा हावाहुरीको समेत सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण र सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: