
पोखरा । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी गण्डकी प्रदेशका बागलुङ, म्याग्दी र मनाङ लगायतका जिल्लाहरूमा २१ जनाको ज्यान गएको छ भने केही व्यक्ति अझै बेपत्ता रहेका छन्। विपद्मा परेका नागरिकको खोजी, उद्धार, उपचार तथा पुनस्र्थापनालाई तीव्र बनाउन प्रदेश सरकारले विशेष सक्रियता देखाएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार सोमबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ विनियोजन गर्नुका साथै ११ वटै जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ नघट्ने गरी बजेटको व्यवस्था गरेको छ।
दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको समन्वयमा तीन वटा हेलिकप्टर परिचालन गरी आइतबार र सोमबारसम्म १४३ जनाको सकुशल उद्धार गरिएको छ।
बाढी-पहिरोले प्रदेशभर ११ वटा झोलुंगे पुल, ६ वटा पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध बनाएकोमा अवरुद्ध राजमार्ग तथा वैकल्पिक मार्गहरू सञ्चालन गर्न पूर्वाधार विकास कार्यालयहरू र संघीय सरकारसँग समन्वय भइरहेको छ।
साथै, स्वास्थ्य सेवातर्फ मनाङमा हेलिकप्टरमार्फत औषधिसहित चिकित्सक र नर्सको टोली खटाइएको छ भने प्रदेश मातहतका सबै अस्पतालहरूलाई आकस्मिक सेवाका लागि तयारी अवस्थामा राखिएको छ।
विस्थापित नागरिकका लागि त्रिपाल, टेन्ट र स्वास्थ्य सामग्री वितरण गर्दै निजी आवास क्षति भएकाहरूलाई स्थानीय तहको विवरणका आधारमा संयुक्त कोषबाट घर निर्माणका लागि रकम उपलब्ध गराइने भएको छ।
चाडपर्वको समयमा नागरिकले थप सास्ती भोग्नुनपरोस् भन्नेमा सरकार सजग रहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यस कठिन घडीमा संयमता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजायौँ भन्दै सुरक्षा निकायको निर्देशिका पालना गर्न सम्पूर्ण नागरिकसमक्ष अपिल गरेका छन् ।
