कांग्रेस कास्कीका ३ वटै क्षेत्रमा मतदान सम्पन्न, नतिजा बुधबार आउने

Share:

पोखरा। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत कास्कीका तीनवटै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मङ्गलवार भएको निर्वाचनको परिणाम बुधबार सार्वजनिक हुने भएको छ। कास्की क्षेत्र नम्बर १ मा १ हजार २२ प्रतिनिधिमध्ये ९ सय ७० मत खसेको छ भने यहाँ सभापतिका लागि अप्सरा श्रेष्ठ, सरोज केसी र ओमप्रकाश गुरुङ चुनावी मैदानमा छन्।

सो क्षेत्रको प्रदेश सभा १ (क) मा नरेन्द्र थापा निर्विरोध भइसकेका छन् भने १ (ख) मा यमबहादुर गुरुङ र अर्जुन गुरुङबीच प्रतिस्पर्धा छ। यस्तै, कास्की क्षेत्र नम्बर २ मा ५ सय ५४ प्रतिनिधिमध्ये ५ सय ४० मत खसेको छ, जहाँ क्षेत्रीय सभापतिमा देवकृष्ण पराजुली, देवराज आचार्य, नवीन बराल र सुभाष सिग्देल मैदानमा उत्रिएका छन्। क्षेत्र नम्बर २ को प्रदेश (क) मा भोजराज आचार्य र अर्जुन पोख्रेल तथा (ख) मा अमृत शर्मा तिमिल्सिना र दीपेन्द्र मर्सानीबीच प्रतिस्पर्धा रहेको छ।

कास्की क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) मा ९ सय ७६ प्रतिनिधिमध्ये ५ सय ७ मत खसेर मतदान सम्पन्न भए पनि प्रदेश सभा (क) मा भने मतपत्रमा प्राविधिक त्रुटिका कारण उम्मेदवारको नाम छुटेपछि मतदान स्थगित भएको छ। निर्वाचन अधिकृत निराजनराज भण्डारीका अनुसार स्थगित मतदान बुधबार बिहान १० बजेदेखि पुनः सञ्चालन हुनेछ।

क्षेत्र नम्बर ३ को सभापतिका लागि प्रदेश सभा सदस्य प्रकाश बराल र विष्णुबहादुर क्षेत्री, प्रदेश (क) मा मेखबहादुर तामाङ र शिव तिमिल्सिना तथा (ख) मा विजय गुरुङ र लक्ष्मी पौडेल चुनावी प्रतिस्पर्धामा छन्। भारी वर्षाका कारण केही दिन पछि सरेको अधिवेशनअन्तर्गत कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ, जसअनुसार असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन, १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: