
पोखरा। गण्डकी प्रदेशको निजामती प्रशासनको नेतृत्व पुनः फेरिएको छ। सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट नवपदोन्नति भएकी आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गर्दै गण्डकी प्रदेशको नयाँ प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ। यसअघि प्रमुख सचिवका रूपमा कार्यरत भूपाल बराललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी दिइएको छ। सतर्कता केन्द्रमा हालै दरबन्दी संशोधन गरी प्राविधिकतर्फको सचिव दरबन्दीलाई प्रशासन सेवातर्फ कायम गरिएपछि बराललाई सो स्थानमा पठाइएको हो।
गत जेठ २५, २०८३ मा अर्थ मन्त्रालयको राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भई जेठ २७ गते पदभार ग्रहण गरेका बराल छोटो अवधिमै पुनः सरुवा भएका हुन्। संघीयता कार्यान्वयनसँगै २०७४ सालमा प्रदेश सरकार स्थापना भएयता गण्डकीमा हालसम्म १३ जना विशिष्ट श्रेणीका अधिकृतहरूले प्रमुख सचिवको रूपमा प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्। २०७४ माघ १८ मा पहिलो प्रमुख सचिवका रूपमा लक्ष्मण अर्यालले जिम्मेवारी सम्हालेका थिए भने १३ औँ प्रमुख सचिव बरालपछि अब आभा श्रेष्ठ कर्ण गण्डकी प्रदेशको १४ औँ प्रमुख सचिव बनेकी छन्।
