७२ वर्षको उमेरमा पूर्वसहायक मन्त्री गुरुङको निधन

Share:

पोखरा। नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङको ७२ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मङ्गलबार निधन भएको हो।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा प्रकाशबहादुर राजनीतिमा आउनुअघि प्राध्यापन पेसामा आबद्ध थिए। उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा करिब साढे १५ वर्ष प्राध्यापन गरेका थिए। सरकारी सेवाको पेन्सन अवधि निस्कन थोरै समय मात्र बाँकी रहँदा प्राध्यापन छाडेर उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए।

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गुरुङले नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए। त्यसपछि उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहायक मन्त्री बनेका थिए।

कास्की कांग्रेसका अनुसार दिवङ्गत गुरुङको पार्थिव शरीरलाई बुधबार बिहान १०:३० बजे चिप्लेढुङ्गास्थित जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: