कहिले बाहिरिन्छ मनसुन ?

Share:

काठमाडौं । असार ५ गते भित्रिएको मनसुन उत्तराद्र्धमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रने र बाहिरिने औसत मिति जुन १३ र अक्टोबर २ लाई मानेको छ । औसत मितिअनुसार बाहिरिने दिन आज हो ।

यद्यपि भित्रने र बाहिरिने मिति केही तलमाथि हुँदै आएको छ । मौसमविद सन्जीव अधिकारीले पश्चिम नेपालबाट मनसुन बाहिरिने आधारहरू क्रमशः पूरा हुँदै गएकाले अब केही दिनभित्रै मनसुन बाहिरिने सम्भावना रहेको बताएका छन् । उनका अनुसार अहिले पश्चिम नेपालमा मनसुन बाहिरिने आवश्यक अवस्थाहरू बन्न थालेका छन् । ती अवस्था एक/दुई दिन निरन्तर रहेपछि मात्र मनसुन औपचारिक रूपमा बाहिरिएको घोषणा महाशाखाले गर्नेछ ।

‘पश्चिम नेपालबाट यी क्राइटेरियाहरू पूरा हुन लागिरहेको देखिन्छ । एक/दुई दिन हेरेर कन्फर्म भएपछि मनसुन बहिर्गमनको औपचारिक घोषणा गर्छौं,’ अधिकारीले भने । नेपालबाट मनसुन बाहिरिन एउटै अवस्थाले मात्रै पुग्दैन । वायुमण्डलमा रहेको आद्र्रता कम हुँदै जानु, पूर्वबाट आउने मनसुनी हावा हटेर पश्चिमी वायु हाबी हुनु र वर्षा गराउने प्रणालीमा पनि परिवर्तन आउनुपर्छ ।

मनसुन बाहिरिने क्रममा पूर्वबाट आउने मनसुनी हावा कमजोर हुँदै जान्छ भने पश्चिमबाट आउने हावा बलियो हुँदै जान्छ । त्यसैगरी वर्षा गराउने गतिविधि मनसुनी प्रणालीका कारण नभई पश्चिमबाट आउने प्रणालीका कारण हुन थालेपछि मनसुन बाहिरिने प्रक्रिया पूरा भएको मानिन्छ ।

‘धेरै क्राइटेरिया हुन्छन् । सामान्य रूपमा हेर्दा वायुमण्डलमा मोइस्चर कम हुनुपर्छ, पूर्वीय वायु हट्दै पश्चिमी वायुले डोमिनेट गर्नुपर्छ । वर्षाका गतिविधिहरू पूर्वबाट आएको मोइस्चरले नभई पश्चिमबाट आएको प्रणालीले हुनुपर्छ,’ अधिकारीले भने ।

मनसुन बाहिरिने क्रममा तल्लो वायुमण्डलको अवस्थासँगै माथिल्लो वायुमण्डलको अवस्था पनि हेरिन्छ। विशेषगरी जेट स्ट्रिमको अवस्थालाई समेत निगरानी गरिन्छ । उपल्लो वायुमण्डलमा सबट्रपिकल जेट स्ट्रिमको प्रभाव देखिन थालेपछि मनसुन कमजोर हुँदै गएको वा बाहिरिने अवस्थामा पुगेको बुझिन्छ ।

अधिकारीका अनुसार अहिले पश्चिम नेपालमा यीमध्ये धेरै आधारहरू पूरा हुने क्रममा छन्। त्यसैले यसपालि मनसुन औसत मितिभन्दा धेरै ढिलो बाहिरिने अवस्था भने देखिएको छैन ।

‘अब नेपालबाट धेरै दिन मनसुन रहँदैन । थोरै दिनभित्रै पश्चिम नेपालबाट बाहिरिने सम्भावना अलि बढी नै छ,’ उनले भने । भारतमा पनि मनसुन बाहिरिने प्रक्रिया सुरु भइसकेको छ । तर भारत ठूलो भूभाग भएकाले त्यहाँ सबै क्षेत्रबाट मनसुन बाहिरिन अझै समय लाग्ने अधिकारीले बताए ।

नेपालमा मनसुन बाहिरिएपछि पनि तत्कालै वर्षा पूर्ण रूपमा रोकिने भने होइन । पश्चिमी वायु वा स्थानीय मौसम प्रणालीका कारण वर्षा हुन सक्छ । त्यसैले मनसुन बाहिरिनु र नेपालमा वर्षा पूर्ण रूपमा रोकिनु एउटै कुरा होइन ।

अहिले भने देशका धेरै ठाउँमा वर्षाको सम्भावना न्यून रहेको अधिकारीले बताए । उनका अनुसार आज पनि हिजोजस्तै एकदमै कम ठाउँमा मात्रै वर्षा हुने सम्भावना छ। पर्सितिर वर्षाको गतिविधि केही बढ्न सक्ने देखिए पनि ठूलो वर्षाको सम्भावना छैन ।

‘एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्छ,’ उनले भने । यसरी हेर्दा अबको केही दिन नेपालमा मनसुनको अन्तिम चरण रहनेछ । पश्चिमबाट आउने हावा बलियो हुँदै जाँदा र मनसुनी हावा कमजोर हुँदै गएपछि मनसुन क्रमशः नेपालबाट बाहिरिनेछ । औपचारिक घोषणा भने आवश्यक सबै अवस्था एक–दुई दिन पुष्टि भएपछि गरिने मौसमविद् अधिकारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: